Banner Nepal
सशस्त्रका चार डीआइजी घर जानबाट जोगिए, एक वर्षको म्याद थपियो

काठमाडौं । सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि एक वर्ष थप भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।

यसरी पदावधि थप हुनेहरूमा नं। १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी छन् ।


उनीहरू आजै मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साता अघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।

सो सिफारिस गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरेको थियो । जसअनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको हो ।

 डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैछ । यो व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।

 सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने सशस्त्र प्रहरी नियमावलीमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update