Banner Nepal
एनपीएल: कप्तान को को ? अधिकांसमा मार्कीलाई मौका जनकपुर बोल्ट्समा भने अनिल

घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आज (शनिबार) देखि सुरु हुँदै छ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै एनपिएलमा सहभागी आठ टिमका कप्तानको घोषणा गरेको छ । आठ टोलीका कप्तानले आफूहरू उत्कृष्ट खेल दिन आतुर रहेको जनाउँदै जित नै आफ्नो लक्ष्य रहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएको घोषणा गरिएको थियो । अन्य टिमले मार्की खेलाडीलाई नै कप्तान बनाएका छन् । जस अनुसार विराटनगर किङ्ग्सको कप्तानमा सन्दीप लामिछाने, चितवन राइनोजको कुशल मल्ल, काठमाडौँ गुर्खाजको करण केसी, पोखरा एभेन्जर्सको कुशल भुर्तेल, लुम्बिनी लायन्सको रोहित पौडेल,‌ कर्णाली याक्सको सोमपाल कामी र सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन्।

राष्ट्रिय टोलीका कप्तानसमेत रहनुभएका रोहितले भने, “यो प्रतियोगितामार्फत नेपालको क्रिकेट अन्तर्राष्ट्रिय जगत्मा थप चिनिने छ ।” विराटनगरका कप्तान सन्दीपले सबै जना उत्साहित रहेको र टिम सन्तुलित रहेको बताए। उनले भने, “अन्य लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो सपना आज एनपिएलले पूरा गरेको छ । आगामी ३–४ वर्षमा एनपिएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ । एनपिल गर्ने कुरामा धेरै चुनौती रहे पनि क्यानले यो सम्भव गरेको छ, यसलाई  निरन्तरता दिनु पर्छ ।”

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिहं ऐरीलाई  सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित एनपिएलमा खेल्ने बताउछन्। जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले काठमाडौँमा‌ आएर मात्र तयारी गरेको हुनाले प्रशिक्षण अलि कम भएको बताए। विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणले आफ्नो टिम सन्तुलित भएको उनले सुनाए । नयाँ युवा खेलाडी र पुरानोका लागि पनि एनपिएलले राम्रो प्लेटफर्म दिएको खबर गोरखापत्रमा छापिएको छ।

काठमाडौँ गुर्खाजका कप्तान करण केसीले एक महिनादेखि खेलाडीहरू प्रशिक्षणमा रहेको जानकारी  दिँदै युवा र विदेशी खेलाडीको तालमेलले टिम राम्रो बनेको बताए। कर्णाली याक्सका कप्तान सोमपाल कामी आफ्नो टोलीमा युवा खेलाडी रहेकाले उत्साहित रहेको जानकारी दिए। “सबैको लक्ष्य जित्ने नै हुन्छ तर सिक्ने मौका पनि पाइन्छ । विदेशबाट आउनुभएका खेलाडीसँग धेरै कुरा सिक्ने अवसर पनि हो,” उनले भने। एनपिएलले धेरै युवालाई मौका दिएकाले नेपालका लागि राम्रो खेलाडी निस्कने कुरामा आफू विश्वस्त भएको उनले बताए।

एनपिएलको अर्को टोली पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले भारतीय प्रशिक्षकको प्रशिक्षणमा पोखरामा टिमको तयारी राम्रो भएको र सबै जना उत्साहित रहेको बताए।

चितवन राइनोजका कप्तान कुशल मल्लले एनपिएलमार्फत विश्वभरले नेपाली क्रिकेटलाई हेर्ने भएकाले उत्साहित भएको बताए। स्टार स्पोर्ट्सबाट प्रसारण हुनाले घरेलु मैदानमा हुने खेललाई विश्वले हेर्ने छ उनले भने । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update