मार्गशीर्ष कृष्णपक्ष चतुर्दशी तिथिलाई बालाचतुर्दशी अर्थात शतबीज छर्ने दिनका रुपमा मनाईन्छ ।
विशेष गरेर यो पर्व नेपाली मौलिक पर्व भएको सजिलै अनुमान गर्न भनें सकिन्छ । किन भनें यो पर्वलाई पुष्टि गर्ने कुनै पनि पौराणिक सन्दर्भ आधिकारिक रुपमा हालसम्म प्राप्त भएको छैन ।
एक थरी प्राचिन सामाजिक लोकमान्यता अनुसार पाशुपत क्षेत्रमा बस्ने बाला नामको असुरलाई मारे पछि त्यस असुरको संझनामा प्रत्येक वर्ष बिभिन्न प्रकारका बीउहरु छरेर बालासुरको स्मरण गरि मनाउन थलिएको प्रसंग बर्णन गरिएको पाईन्छ भनें अर्को जनआस्था अनुसार भगवान शिव पार्वती श्लेष्मान्तक वनमा गृग मृगिणी बनेर बिभिन्न प्रकारले पशु प्रबृत्तिका सहज कर्महरु गर्न थाले ।
वनमा पशुहरुका लागि उचित चरन र खाने घांस पर्याप्त नहुनु अनि अर्कातर्फ मृगरुपधारी साक्षात जगन्नियन्ता शिवशक्तिकालागि सामान्य घांसपात भन्दा उत्तम खाद्यको व्यवस्था गर्नु प्रकृतिको बाध्यता पनि बन्यो ।
प्रकृृतिको यस प्रकारको बाध्यतालाई देखेर आकाशबाट देवताहरुले मंसिरको चतुर्दशी तिथिका दिन बिभिन्न प्रकारका देवधान्यहरुको वर्षा गरे र तीनै अन्नहरुको बीउ उम्रिएपछि मृगस्वरुप शिवजीले त्यसको सेवन गरे र खुशी हुदै मानव कल्याणका लागि आशिर्वाद दिदै भने जसले यो चतुर्दशी तिथिका दिन विभिन्न प्रकारका बिउहरु छर्दन उनीहरुले एक दाना बिउ छरे बराबर त्यत्ति नै सुन दान गरेको पुण्य मिल्दछ ।
यी दुवैकथानक अनुसार दोस्रो चिन्तनको संगति आस्थाका दृष्टिले उचित मान्न सकिन्छ ।
समय बित्दै गएपछि आस्थाका विषयहरुमा पनि शंका र प्रश्नहरु उठछन र प्रश्न उठनु स्वाभाविक पनि हो किन भने सनातन हिन्दु आस्था हेतुबाद (प्रस्तावना , कारण र प्रमाण ) आधारित छ । यसकारण सनातन हिन्दु संस्थाका कुनै पनि कर्म कर्तव्यको प्रस्तावना र स्थापना अकारण र प्रमाणरहित छैनन ।
तर यस धर्मका कुनै पनि कर्मका कुराको तर्कसंम्मत वैज्ञानिक विवेचना गर्न धेरै शास्त्रहरुको अध्ययन गर्नै पर्छ । अनेकौ ऋषिमहर्षिहरुले दिएका उपदेशहरुका संग्रहहरु कर्मकाण्डका बिधिहरुका रुपमा तयार भए र सामान्य जनले अनिवार्य कर्मको जानकारी र बिधिहरु त्यही प्राप्त गरे र प्रयोग गरिरहे ।
यस्तो कार्य विशेष गरेर पौरोहित्य कर्ममा लागेका ब्राह्मणहरुमा निहीत भयो र जनमानसले निरन्तर । ब्राह्मणहरुलाई श्रद्धा पूजा र विश्वास गर्दै शास्त्र अनुकुल कर्महरुलाई नियमित रुपले पालना गरिरहे ।
यसरी शतबीज शताब्दीयौदेखि आस्था श्रद्धा र निष्ठाको पर्व बनिरह्यो । यसका ईतिकर्तव्यताहरुमा श्रद्धाका अरु आयामहरु पनि थपिदै गए । थपिएका श्रद्धाका अरु आयामहरु मध्ये त्यसै वर्ष प्राणोत्सर्ग गरेका आफन्तको श्रद्धास्वरुप शिव मन्दिर परिसरमा शतबीज छर्ने जनविश्वास पनि प्रवल भयो ।
यो जनविश्वासको धरोहरु अव अभेद्य किल्लाका रुपमा स्थापित भई सकेको छ यसर्थ यसलाई समाज र शास्त्रविद्हरुले अन्यथा लिन छाडि सकेका छन ।
यद्यपि पितृश्रद्धा श्राद्ध र यस सम्बन्धी विवेचना गर्ने शास्त्रको मर्यादामा चोट पुग्ने कार्यलाई भनें कसैले प्रश्रय दिनु हुदैन भन्ने हेक्का सबैमा हुनु अनिवार्य छ ।
हामीले यो आलेखको शीर्षक नै बीज विज्ञानको पर्व भनेर राखेका छौ यसकारण शतबीज र बीजविज्ञानका विषयमा संक्षिप्त चर्चा गरौं ।
हाम्रो पूर्वीय सभ्यताको समाज र यो समाजले पालना गरेको धर्म दुबैले बृक्ष वनस्पति र मानवजीवनमा विभिन्न प्रकारका समानता परिलक्षित गरेको छ । सनातन हिन्दुधर्मको पृथ्विी सम्बन्धी अति महत्वपूर्ण अवधारणा रहेको छ ।
प्रकृतिको सम्पूर्णतामा पृथ्वी र बिउको सम्बन्ध साथै पृथ्विी बिउ र मानव सम्बन्धको तादात्म्यता हम्रा धर्मशास्त्रहरुमा सर्बत्र बिबेचना गरिएको छ । मानवदेह र बृक्ष वनस्पतिको साम्यताको वर्णन गर्दै बृहदारण्यकोपविषदमा महर्षि याज्ञबल्क्यले “यथा बृक्षो वनस्पतिस्तथैव पुरुषोमृषा , तस्य लोमानि पर्णानि त्वगस्योत्पाटिका बहिः” भनेर मानव शरिर र बृक्षमा समानताका अनेक पक्षहरुको धेरै विवेचना गरेका छन । यस्तै छान्दोग्योपनिषदमा पनि बृक्ष र सबै वनस्पतिमा जीव आत्मा ओत प्रोत भएको बताईएको छ ।
विश्वको उत्पत्ति र विकाशका सम्बन्धमा जो जसले व्याख्या गरे उनीहरुले बीज बृक्ष अवधारणाकै आधारमा व्याख्या गरेका छन । आधुनिक वनस्पति वैज्ञानिक जगदीशचन्द्र बसुले मानव र अरु प्राणि जस्तै संबेदना वनस्पतिमा पनि हुन्छ भनेर प्रमाणित गरे ।
बीजबाट बृक्ष बन्ने प्रकृयालाई नै आधार मानेर शास्त्रले शूक्ष्मबाट स्थूल गतिलाई व्याख्यान गरेका छन । अति शूक्ष्म बीउमा बिशाल बरको रुख अव्यक्त रुपमा समाहित छ । यो नै शूक्ष्मताबाट स्थूलतातर्फको् गति र प्रगतिको बिम्ब मानिन्छ । यसकारण बिउ विश्व सभ्यताको जनक मानिन्छ ।
बिउबाट प्राप्त हुने अन्न मानव सभ्यताको आधार हो । मानवले गर्ने हरेक पौरखको आधार भोजन हो । पृथ्वी र बिउको सम्बन्धबाट नै अन्न बन्दछ ।
अन्न मानवको भोजन हो अन्न नै मनवको प्राण हो भनेर शास्त्रमा वर्णन गरिएको छ । मानवको सामाजिक सांस्कृतिक र पारिवारिक सम्बन्ध भोजनको आधारमा नै टिकेका छन । जव मानिसको भोजनको स्वरुप बदलिन्छ तव मानव र प्रकृतिबीचको सम्बन्ध र जीवन प्रतिको दृष्टिकोण आस्था अनि विश्वासको स्वरुप पनि बदलिन्छ । यस कारण बिय प्रकृति र मानवजगतबीच सभ्यता , भौतिक र मनोवैज्ञानिक अन्तरसम्बन्ध ,सौन्दर्यबोध ,प्रकृति वन वनस्पति र बीउसंगको ईश्वरीय सम्बन्ध भाव , प्रकृति वनस्पतिसंगको सम्बेदना ।
भावनात्मकता संगै वनस्पति र पंचमहाभुतको एकरुपता परिलक्षित हुन्छ । यसकारण बालाचतुर्दशी लाई हामीले हम्रो मौलिक पर्व मान्दै वैश्विक पर्व बनाएर पृथ्बी प्रकृति र मानवजीवनकाबीच तादात्म्य र अन्योन्याश्रित सम्बन्धको अविच्छिन्न परम्परालाई जीवन्त राख्दै संसारलाई बिजविज्ञानको दर्शन प्रवाह गर्नु सम्पूर्ण सनातनीहरुको कर्तव्य हो ।
आलेख प्रकाशकका तर्फबाट प्राप्त भएको सिमित स्थानमा असिमित बिजविज्ञानलाई बिजरुपमा (संक्षेप रुपमा) लेख्नु ब्रह्माण्डको व्यष्टिलाई समष्टिमा रुपान्तरण गर्नु झै मूर्खता भए पनि बालाचतुर्दशी बिजविज्ञानको विश्वव्यापी पर्व बनोस मंगलमय शुभकामना ।