काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल जसरी पनि उठाउने तयारी गरेका छन् ।
प्राधिकरण सञ्चालक समिति र विद्युत नियमन आयोगको निर्णय विपरित निर्देशक घिसिङले बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई चिट्ठी पठाएका हुन्। उनले बक्यौता नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् ।
उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।
पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ ।
बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।