सरकारले आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ । सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई यसकै आधारमा २०६७ साल चैत ७ गते भएको थियो ।
सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गते भएको थियो । त्यसैले कोषले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गर्दछ ।
दीगो र पुग्दो पेन्सन र भरपर्दो स्वास्थ्य उपचारको लागि कोषमा आबद्ध हुनु पर्ने कामदारको पहुँच अझै पुग्न सकेको छैन। श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत काट्ने र यसमा रोजगारदाताको २० प्रतिशत थपेर सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन्छ । यसवापत पेन्सनसहित विभिन्न सुविधा प्राप्त हुन्छ । तर रोजगार दाताले श्रमिकलाई यो सुविधामा लैजान सहज मानिरहेका छैनन् ।
पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रका र वैदेशिक रोजगारीमा गएका श्रमिकका १८ वर्षमुनिका छोरा–छोरीलाई पनि स्वास्थ्य सुविधामा समेटिएको छ । यस्तै सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वाषिर्क एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् ।
कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ ।
स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअनुुसार सुविधा पाउँदै आएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।
कोषका अनुसार अहिलेसम्म १९ हजार सात सय ६९ रोजगारदातामार्फत १७ लाख ९७ हजार ६ सय ४० जना योगदानकर्ताले रकम जम्मा गरिरहेका छन् । अहिलेसम्म ६८ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै योगदान रकम जम्मा भएको छ भने ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानीको निवेदन प्राप्त भएको छ ।