अहिलेका बालबालिका के खेल्छन् वा के–के खेल्छन् ? धेरै कुरा नगरौ होला, सवैलाई थाह छ । हामी बालबालिकाहुँदा चैँ के के खेल्थ्यौं, भन्छु है त । यि खेल चाँहि बहुदल पछिका ५/६ वर्ष सम्म खेलिएका खेल हुन् ।
१) ए लरे, के परे
प्राय: साँझ खाना खानु अघि ४/५ घरका भुरा त भेला भईनै हाल्ने । अलिक ठुलो आँगनमा १०÷१२ जनाको अर्धघेरा लाग्ने । घेराको दुवै तर्फ पहिलो/पहिलो व्यक्ति माउ हुन्थे । उनीहरु समुहका नेता पनि उनीहरुले भट्याउँथे । पहिले एउटाले प्रश्न गर्थ्यो र अर्को माउले उत्तर दिन्थ्यो ।
क– ए लरे
ख– के परे ?
क– तेरा गाईले धान खायो
ख– कति मुरी ?
क– १० मुरी
ख– कति हगो ?
क– थपर्याक थुप्रुक
ख– कति मुतो ?
क– तेलको धारो
ख– तेरो छोराको बिहे कहिले ?
क– भोलि
ख– के काट्ने ?
क– खसी
ख– कुन बाजा ?
क– पञ्चे
ख– कुन बाटो ?
क– यहि बाटो
अनि अन्तिममा उत्तर दिने माउ ‘टिनीनी.......’ भन्दै अर्को माउको काखी मुनीबाट साथीहरुको हात नछोडी ताँतीनै रेलगाडी जस्तो हुरुरुरु फेरि अर्धवृतकार घेरा बनाउन जान्थ्यो । यसरी घुम्दा अन्तिमको एउटा व्यक्ति घुम्न नमिलेर बिपरीत दिशातर्फ फर्किनु पर्थ्यो । यसलाई गाई बाँध्ने भनिन्थ्यो । अनि ‘झ्याप्’ भनेर ‘टिनीनी.......’ भन्दै लगाएको नारा रोकिन्थ्यो । यस पछि फेरि क्रम शुरु हुन्थ्यो भट्याउने र प्रत्युत्तर दिने । तर क्रमश: गाई बाँधिदै गए पछि भट्याई शुरु हुन्थ्यो
क– एउटा गाई त बाध्यो
ख– भलै भयो ।
क– ए लरे...................
क्रमैसँग सवै गाई बाँधिए पछि खेलको पहिलो चरण पूरा हुन्थ्यो ।
२) काँक्रा–फर्सी छान्ने
३० वर्षं अघि खेलेको खेल हो । सबै प्रकृया त विर्से पनि जस्तो लाग्यो । तर यो खेल कसरी खेलिन्थ्यो भने, ‘ए लरे, के परे’ जस्तै भट्याएरनै हो । दुई जना माउ भट्याउन आउने अरु भुईमा समुहमा बस्ने । भट्याउँदै आउनेहरुले शुरु गर्थे:
क– टङ्र्याङ्, टुङ्रुङ् ।
(यो पहिलो वाक्यचै अहिले घर धनीको ध्यान खिच्न ढोकाको घण्टि बनाएको आवाजको नक्कल रहेछ जस्तो लाग्छ । तर त्यस बेला ढोकामा घण्टि जडित घरको चलनै आएको थिएन ।)
क– टङ्र्याङ्, टुङ्रुङ् ।
ख– तलमुनि को आयो ?
क– हामी हौ, हामी ।
ख– किन आको ?
क– राजाको छोराको बिहेमा काँक्रा–फर्सी लिन
ख–कुन लाने ?
यस पछि माउहरुले आएर साह्रो छ कि गिलो भनेर टाउकामा छाम्थे । अनि उनीहरुलाई जुन मन प¥यो, यहि लाने भन्थे । यसरी काँक्रा–फर्सी भनेर छानिएका दौतरी बोक्न भने माउहरुलाई हैरान ।
छानिएको व्यक्ति पलेँटी कसेर बस्ने अनि दुवै हातले दुवै गोडाका बुँडी औँला जोडसँग समाउने । माउहरुलेचै बुढीऔंला समाईएको हात दुई पटि एक एक जनाले बोकेर १०÷१२ पाईला पर लगेर राख्नु पर्ने ।
३) ढुकुमुकु ढुकुमुकु
यो खेल्न पनि दुई माउ चाहिन्थे । बाँकि सवै खेलाडी घोप्टो परेर टुक्रुक्क निहुरिएर बस्ने । पछाडी ढाडमा बिस्तारै मुड्कीले हान्दै प्रश्न गरिन्थ्यो, ‘ढुकुमुकु ढुकुमुकु कस्को हात ?’ अनि घोप्टो परेको व्यक्तिले ‘आमाको’ भन्थ्यो । क्रमैसँग ७÷८ पटक ‘ढुकुमुकु ढुकुमुकु कस्को हात ?’ भन्दै प्रश्न गर्ने र उत्तर दिने क्रम चल्थ्यो । अन्त्यमा ‘ढुकुमुकु ढुकुमुकु कस्को हात ?’ भनेर सोधे पछि ‘राजाको’ भनिन्थ्यो । अनि त्यो निहुरिएको खेलाडी ‘राजाको भोटे कुकुर फुक्यो’ भनेर जोडसँग चिच्याउँदै अलिक पर सम्म भाग्थ्यो ।
यि तिन ओटा खेललाई कहिले अलग अलग रुपमा खेलिन्थ्यो र कहिले एउटै खेलका चरणका रुपमा पनि खेल्ने गरिन्थ्यो ।
४) खाँबासाटी
यो खेल चाँहि विद्यालको चौरी, जहाँ रुखहरु छन् त्यहाँ खेलिन्थ्यो । गाउँमा हुँदा गेउरीया खोलाको डिलमा अधिकारी बाले रोपेको सिसौको नर्सरीमा पनि खेलियो । यसका लागि जति जना खेलाडी छन्, त्यो भन्दा एउटा कम रुख छनौट गरिन्थ्यो । जो रुख बिहिन छ, उसलाई ‘डुम’ भनिन्थ्यो । बाँकि खेलाडीहरु एउटा खाँबो अर्थात रुख समात्ने र एउटा रुखबाट अर्कोमा साटिने । यसरी रुख साटिने क्रममा खेलमा संलग्न खेलाडी भन्दा पहिले डुमले खाँबो समायो भने रुख बिहिन हुन खेलाडी डुम बन्ने । अनि क्रमश: नगलुन्जेल सम्म खेल्ने ।
त्यो रुख बिहिन हुने र आफु डुमको दर्जाबाट उम्किन प्रयत्न गर्ने खेलाडीलाई किन डुम भनिएछ ? विचार्दा, त्यो जातिय विभेदको एउटा प्रतिक रहेछ । जातिय विभेदको बलियो प्रभाव रहेको त्यस बेला सवै भन्दा सानो जात भनेर अपहेलाना गरिएको ‘डुम/डोम’ जातिको बिम्ब बनाईएको रहेछ, त्यसलाई । पुस्तौ देखि भनिदै आएको त्यो शव्द हामीले पनि थाहै नपाई अनुशरण गर्यौं । खाँबासाटीमा मात्र होईन रुखका हाँगा–हाँगा दगुर्ने र हाम्फालेर खेलिने खेलको नामनै ‘छोईडुम’ थियो । ‘आसपास’ खेल्दा पनि शुरुमा डुम छानिन्थ्यो । खाँबासाटी वा आसपास खेल त ठिकै हुन्, तर त्यो अपहेलना पूर्वक भनिने शव्दलाई अर्को कुन उपयुक्त शव्दले प्रतिस्थापन गर्ने होला ? अबको पुस्तालाई ति खेल बारे बुझाउँदा वा सिकाउँदा चाँहि उपयुक्त नयाँ शव्द चयन गरेर मात्र बुझाउनु वा सिकाउनु पर्ने देखिन्छ ।
५) गुईठा लडाई
यो खेलमा खेलाडीको संख्या यतिनै भन्ने त थिएन तर ४/५ जना वा सो भन्दा बढि पनि होईन्थ्यो । यो खेलका ठाउँ अनुसारका अरु पनि नाम होलान् । यो खेलका लागि शुरुमा गाईका सुकेका गुईठा तर चेप्टा आकारका भेला पारिन्थ्यो । तर गुईठा छिटै भाँचिने र टुक्रिने भएकाले पछि पछि त्यसको विकल्पमा चेप्टा ढुंगा, ईटाका टुक्रा, टिनका पाता लगायत प्रयोग गरिन थालियो । यसरी भेला पारिएका गुईठा पछि चाहिने मोजाको गोल ।
मोजाको गोल बनाउँदा ध्यान दिनु पर्ने कुरा पनि थिए । मोजा भित्र कपडा कोचियो र गोल बनाईयो भने त्यो गोल भिजे पछि सुक्न धेरै समय लाग्ने । त्यसैले कपडा कोच्नु उपयुक्त हुँदैन थियो । सके सम्म प्लाष्टिकनै राम्रो । प्लाष्टिक भिजे पनि छिटै सुक्ने र हल्का पनि हुने । सवैले जुत्ता र मोजा लगाउने चलन त थिएन । तर छ भने आफ्नो नभएमा अरु कसैको फाटेको मोजा खोज्ने र त्यस भित्र प्लाष्टिक वा थोत्रा कपडा कोचेर गोलो बनाउने अनि अन्त्यमा मुख सिलाउने । यसरी बनाईएको हुन्थ्यो मोजाको गोल । भित्र प्लाष्टिक मात्र कोचिएको र मुखमा सियो धागोले मसिनोसँग सिलाईएको गोल सवै भन्दा गज्जव ।
खेल्ने तरिका चै, ‘गुईठा’ को अग्लो चाङ लगाउने अनि अहिलेको अन्दाजमा ५÷६ मिटर परबाट मोजाको गोलले हान्ने । पालै पालो हान्ने । जसको पालोमा त्यो गुईठाको चाङ् लड्छ नि उसले फेरि थाक लगाएर पहिले जस्तै बनाउनु पर्ने ।
थाक लगाउन सजिलो थिएन । बाँकि रहेका खेलाडीहरु सवै एक टिम जस्ता हुने । उनीहरुले त्यहि मोजाको गोलले आफुलाई हान्ने । उनीहरुले हानेको गोलबाट छलिएर थाक लगाई सक्नु पर्ने । यदि थाक नलगाई आफुलाई गोलले लाग्यो भने ‘आउट’ भईयो । छलेर थाक लगाईयो भने त्यो चरण जितियो । फेरि थाक लडाउने र जोड्ने आफ्नै पालो ।
६) खोप्पी
खोप्पी अर्थात ढुस् पनि भन्ने चलन थियो । यसका लागि भुईमा थोरै मात्र गहिरो तर आवश्यकता अनुसार फराकियो । १ वर्ग फिट जतिको खोपिल्डो अथवा खोपी बनायो । खोपिल्डोको साटो भुईमा रेखा तानेर त्यहि आकार र क्षेत्रफल कायम गरि खुद्रा पैसा छरिन्थ्यो, चारआना–आठआनाका एकमुठि । २०/२२ ओटा सम्म । अनि एक रुपैयाँको सिक्का ढक्की हुन्थ्यो । क पक्षले पहिले खेल्ने मौका पायो भने उसले पैसा छथ्र्यो रेखा तानेर तोकिएको क्षेत्र भित्र वा खोपिल्डोमा । अनि ख पक्षले देखाउँथ्यो, ‘लु यसलाई हान्’ भनेर ५/६ फुट पर सिमाना तोकिएको स्थानबाट तोकिएकै सिक्कालाई मात्र हान्न सकियो भने त्यो पैसा टिपिन्थ्यो ।
क्रमैसँग तोकिएको सिक्कालाई हान्दै जाने, अर्कोलाई नछोए सम्म । तोकिएको बाहेककोलाई छोए पछि पालो सकियो । अनि आफ्नो पालो भरिमा जतिवटा पैसालाई ढक्कीले हान्न सकियो त्यति बराबरको पैसा अर्को पक्षले दिन्थ्यो । सिक्काको साटो गुच्चा राखेर पनि यहि खेल खेल्न सकिन्थ्यो । त्यस बेला हाम्रो घरमा पसल थियो । एक रुपैयाका गुच्चा ८ ओटा आउथ्यो । तर गुच्चा, खोप्पी र ढुस खेललाई फटाहा र लफङ्गाले खेल्ने खेल भनेर भरसक अभिभावकले यि खेलचै खेल्न दिँदैन थिए । माथ्लो गाउँ गएको बेला गेउरीया खोलाको डिल र रामुटोल नजिकैचै यि खेल बेला बेला खेल्न पाईन्थ्यो, हाम्रै टोलमाचै कडिकडाउ थियो ।
७) चोर–पुलिस
यो खेल त धेरैलाई थाह होला पनि । प्राय स्कुलको टिफिन समयमा ५/६ जना साथीहरुको विचमा यो खेल खेलिन्थ्यो । जति खेलाडी छन्, त्यतिनै कागजका टुक्रा बनायो । चोर, पुलिस, राजा, मन्त्री, हल्दार लगायतका एक/एक पद चिर्कटामा लेख्यो र पट्यायो । अनि हातमा हल्लाएर भुईँमा फाल्यो । सवैले एक एक चिर्कटा तान्थे । राजा चिर्कटो पर्नेलाई ढुक्क । उसले आदेश दिन्थ्यो, ‘पुलिस चोरको कान पक्डी’ भनेर । सवै भन्दा आपत्त पुलिसलाई । पुलिस चिर्कटो पर्नेलाई अल्मल्याउन र झुक्याउन ‘चोर’ चिर्कटो नपरेकाहरु आफुलाई चोर लेखेको परेको छ भन्ने हाउबाउ देखाउँदै पुलिसलाई फसाउन खोज्थे । चोर परेको चाँहि गमक्क परेर ‘आफुलाई त परेन, ढुक्क’ भन्दै गमक्क परेको नक्कल गर्थ्यो ।
राजाको आदेश बमोजिम पुलिसले सहि चोरको कान समात्यो भने उसको १ नम्बर आयो, बाँकि सवैको पनि आयो तर चोरको शुन्य । यदि गलत चिर्कटोवालाको कान समायो पुलिसले भने उनको नम्बर शुन्य, चोर सहित बाँकि सवैको १/१ । ८/१० चरण यसै गरि खेले पछि अन्त्यमा नम्बर जोडिन्थ्यो, जसको धेरै आयो उ बिजयी घोषणा हुन्थ्यो । दिन भरि गमक्क पर्न पाउँथ्यो, हार्नेले आफ्नो ईज्जत गएको ठान्थ्यो र निराश हुन्थ्यो ।
अनि अरु
डण्डिबियो पनि खुवै खेलियो । मलाई मन पर्ने खेल पनि । खासमा मैले गुच्चाचै उत्ति खेलिन । गुच्चा खेल्नेलाई लफङ्गा, बेकामेनै भनि हाल्थे । आसपास, छुर, कवडी, चट्टी, गोबरलठ्ठी पनि त्यस बेलाका लोकप्रिय खेल । स्कुलमा हुँदा ‘बामभोले’ खेल्न उस्तै मज्जा । रुमाल लुकाई त सवै तिरकै प्रिय खेल होला, बाल्यकालको ।
५० को मध्य पछि गाउँमा भलिवल पनि भित्रियो । गेउरीया र मंगलबारेमा खुव जम्थ्यो भलिबल । दहिचोकमाचै अलिअलि । त्यहि अलिअलि भित्र पनि मचै झन अलिअलि मात्र खेल्ने । मैदानमा खेलिने खेल मध्ये मन पर्ने भनेकोचै भलिबलनै हो । बरु कलेजमा पनि खेलियो यो चैं । फुटबल त सदाबहादर भई हाल्यो । तर म टोले फुटबल खेलाडी पनि बन्न सकिन । आक्कल झुक्कल किप्पर नत्र डिफेन्डर (ब्याक्की) चैँ बसियो । रेफ्रिचै निक्कै बसिन्थ्यो बाजीको खेला हुँदा । क्रिकेट पनि ६० को शुरुवातसँगै भित्रि सकेको थियो । तर मैले बल र व्याट समाईन ।
‘चिँ मुसी चिँ’ देखि भलिबलमा झप्पा हान्दा सम्ममा निकै थोक खेलियो क्यार । तास र डाईसमा लत बसेन । बेला बेला कलबिरे (कलब्रेक) खेलियो चारआना बोट देखि एक रुपैयाँ बोट सम्म । डाईसमा दाउ थापेको सम्झना छैन, बरु रतुवा खोलाको डिलमा त्रिपासा खेल्दा ७५ रुपैयाँ हारे पछि रुँदै घरमा पैसा हरायो भने ढाँटियो ।
घर अगाडीको बाटो बिच बनेका साला क्या मज्जा । काठको पिरामा पम्पसेटका बिग्रिएका व्यारीङ् चक्का जोड्यो, अगाडी एउटा र पछाडी दुईटा । अगाडी हेण्डिलमा एउटा रडको टुक्रो बङ्ग्याएर अड्कायो अनि समायो । पालैपालो दहिचोक देखि कान्छिको दोकान सम्म धकेला धकेल गर्यो । ‘स्किटिङ्’ खेलेको भन्थ्यौं,गज्जव मज्जा ।
साईकलका थोत्रा टायरमा धोक्रेका डण्डिले हाँन्दै कुदाएर गाउँ डुल्यो । त्यो पनि नहुने आफ्ना पछि पछि दौडि रहेका, ‘ओए, मलाई पनि एकखेप देन ल’ भन्दै । ‘अस्ति देको छस् मलाई’ भन्दै फुँई लगाउँदै धाक लगायो । आँफै मख्ख ।
फलामको पातलो पाताको रिङ् अनि त्यसलाई साईकलको स्पोक बङ्ग्याएर धोक्रेकै डाँठमा छिराएर बनाएको उपकरण । त्यसैले एकनासले धकेलेर गुडायो, आनन्द । त्यसमा पनि पालो पर्खनेलाई धाक दिन उस्तै मज्जा । आफुसँग नहुँदा पनि हालत त उहि हुन्थ्यो ।
समग्रमा, खेल्न भने पछि साह्रै अल्छि म । क्यारेमवोर्डमा कहिल्यै सिस लागेन । चेस सिक्ने झिँजो गरिएन । बरु लुडोमा छेरुवा साप खेलियो, कोठावाला झण्झट लाग्ने । क्यान्डीक्रसको युगमा त्यो पनि खेलिएन । धन्न फायरफ्रि र पब्जी सिकिएन । हुन त धेरै खेलहरु खेलियो क्यार तर सम्झन्छु, खास के चैं पो खेलिएछ र आखिर । हैट, खेल्ने बेला त केहि खेल्दै नखेलि पो बितेछ।