Banner Nepal
जलवायु परिवर्तनले पारेका असरमा विकशित मुलुकलाई गम्भीर बनाउन राष्ट्रसंघका महासचिव गुटरेसलाई राष्ट्रपति पौडेलको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरसम्बन्धमा विकसित देश गम्भीर हुनुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा जारी कोप २९ सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेससँगको भेटमा पौडेलले विकशित मुलुकलाई गम्भीर बनाउन आग्रह गरेका हुन् । 

गुटरेशसँगको कुराकानीमा उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरेका छन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्रर सरकार प्रमुखहरूसँग बुध‍वार सामूहिक भेटघाट गरेका थिए । सोही कार्यक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेमा सचेत हुनु पर्ने सुझाव दिए । 

राष्ट्रसङ्घका महासचिव गुटेरेसले विपतको पूर्व चेतावनी प्रणाली स्थापनामा अल्पविकसित राष्ट्रहरूलाई प्राथमिकतामा राखेकोमा राष्ट्रपति पौडेलले आभार व्यक्त गर्दै जलवायु परिवर्तनले आर्थिक र सामाजिक अवस्था कमजोर भएका अल्पविकसित देशहरूलाई सबैभन्दा बढी असर गरेको बताए।

राष्ट्रपति पौडेलले महासचिव गुटेरेसले सन् २०२३ मा नेपाल भ्रमण गर्दा हिमालहरू कसरी पग्लिरहेका छन् भन्ने प्रत्यक्ष अनुभव गरेको भन्दै यस वर्ष थामेमा हिमताल फुटेको तथा काठमाडौँ र आसपास क्षेत्रमा बाढीपहिरोले ठूलो विध्वंस गरेको जानकारी दिए। 

अल्पविकसित देशहरूको विश्व समन्वय परिषद्को अध्यक्ष राष्ट्रका हैसियतमा यी देशहरूको चासो र हकहित रक्षाको लागि नेपाल प्रतिबद्ध रहेको पौडेलको भनाइ थियो। 

सो अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले जलवायु परिवर्तनको कारण उत्पन्न समस्या र जोखिम बेहोर्नुपरेका मुलुकलाई सहुलियतपूर्ण स्रोत उपलब्ध गराउनुपर्ने धारणा राख्दै कोप २९ अन्तर्गत हुने बैठक, छलफल र वार्तामा यो विषयलाई जोडदार रूपमा उठाउन सुझाव दिएका थिए।

बैठकमा बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख, मालावीको उपराष्ट्रपति र गाम्वियाका मन्त्रीको सहभागिता रहेको थियो।  

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update