Banner Nepal
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता , नेपाल भ्रमणको निम्तो 

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको हो । साथै मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् । 

भेटपछि सामाजिक सञ्जाल एक्समा  राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्त्ररण गरेको उल्लेख गरेकी छन् । भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत व्यक्त गरेकी थिइन् ।  मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेका छन् । 

त्यसअघि हिजो मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता  गरेकी छन् । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा आइतवार भारतको औपचारिक भ्रमणमा गएकी हुन् । उनी भदौ ६ गते स्वदेश फर्किने छिन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update