काठमाडौं । रुपन्देहीका नाकाबाट हुने राजस्व चुहावट न्यूनिकरण हुन थालेको छ । जिम्मेवारीमा खटिएका कर्मचारीले आफ्नो कर्तव्य निष्ठापूर्वक गर्ने हो भने राजस्व चुहावटको समस्या धेरै हदसम्म समाधान हुने देखिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरको सक्रियताले नाकाबाट हुने चोरी पैठारी नियन्त्रण प्रभावकारी बनेको हो । गणका प्रमुख /प्रहरी उपरिक्षक आनन्द थापा मगर सो नाकामा खटिए यताका तथ्यांकलाई केलाउदा तथ्य पुष्टि भएको देखिन्छ ।
थापाले कमाण्ड सम्हाले यताको अवधिमा ९ करोड ७० लाख बढिको अवैध सामान नियन्त्रणमा लिई भन्सार तथा सम्बन्धित निकायमा पठाइएको छ । जुन अघिल्लो आर्थिक वर्षका भन्दा उच्च हो । थापाले गण सम्हालेको ९ महिना मात्रै भएको छ ।
सिमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै गणले ९ महिनाको अवधिमा ३ करोड ७४ लाख ५२ हजार मुल्य बराबरको कपडा, जुत्ता र खाद्यन्न लगायतको बस्तु नियन्त्रणमा लिएको छ । यस्तै ३ करोड ७७ लाख बराबरको अवैध मालवस्तु ढुवानीमा प्रयोग भएका सवारीसाधन, ५३ लाख ८५ हजार मुल्य बराबरको प्याज, ७० लाख बढिको चिनी, ६ लाख बराबरको चिनी र ४८ लाख बराबरको ब्रोइलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पठाइएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा थापाले बताए ।
गणको नेतृत्व सम्हालेदेखि नै एसपी थापाले तस्करी नियन्त्रणमा कठोर छन । फागुनमा कमाण्ड सम्हालेको एसपी थापाले पहिलो महिनामै झण्डै एक करोड मुल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएका थिए ।
त्यसपछि पनि निरन्तर रुपमा हरेक महिना एक करोडकै हाराहारी अवैध सामानहरु नियन्त्रणमा लिएका छन । भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, प्याज, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन समेत नियन्त्रणमा आउने गरेको तथ्याङक छ ।
उनले सिमामा निगरानी बढाउदै सिमाबाट हुने अवैध कारोबारको सम्भावित क्षेत्रको पहीचान गरी योजनाबद्ध रुपले प्रस्तुत हुदा अवैध बस्तुको नियन्त्रणको बढ्नुका साथै तस्कर तथा भरियाहरु पनि पछि हटेका छन । खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाई गर्न कुनै कसर बाँकी नराखेको एसपी थापाको भनाई छ ।
रुपन्देही जिल्ला अन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षा लगायतको कामसँगै खुला सिमाका कारण हुन सक्ने चोरी तस्करीमा थापाको सक्रियता प्रभावकारी बन्दै गएको स्थानीयको भनाइ छ ।
तस्करले सो नाकाबाट चिनी, कपडा,जुत्ता चप्पलजस्ता बस्तु अवैधरुपमा भित्र्याउने गरेका छन् ।