Banner Nepal
उपनिर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई एमालेको निर्देशन, मानव तस्करीमा मुछिएका अधिकारीको सबै जिम्मेवारी खोसियो


काठमाडौं । नेकपा (एमाले) ले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन दिएको छ । शनिबार बसेको सचिवालय बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको हो ।

बैठकले निर्वाचनका लागि सिफारिस भइआएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । ‘निर्णय भइआएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ’ बैठक पछि नेकपा ९एमाले० का उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने उनले बताए ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि बैठकमा समीक्षा भएको उनले बताए। बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको ज्ञवालीले बताए ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको छ । सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ । दुई दलको बिचमा निरन्तर संवाद र सहमतिका लागि सो कार्यदल बनेको ज्ञवालीले बताए। त्यस्तै, कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीमाथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । 

उनलाई पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । उनीमाथि हुने छानबिनमा पार्टीले पूर्ण सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले बताए। मङ्सिर ७ गते पार्टीका काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरण सभालाई प्रभाकारी बनाउने पनि बैठकले निर्णय गरेको छ । त्यसका लागि जनसंगठनलाई परिचालित गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update