काठमाडौं। खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।
सरकारले ७८ करोड रुपियाँ खर्च गरेर सडक पुर्याएपछि दुर्गम गाउँमा गाडी देख्नेबित्तिकै प्रवीणता प्रमाणपत्र तहको पढाइ सकेर बसेकी २० वर्षीय रविना चन्द (रुबी) सार्वजनिक सवारी चलाउने जिल्लाको पहिलो महिला सवारीचालक बनेकी छन्। रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
पञ्चेश्वर गाउँपालिका–४, निङ्लाडकी २० वर्षीय रुबी चन्द (रविना) पालिकादेखि प्रदेश राजधानीसम्म सार्वजनिक यातायात चलाउँदै आएकी छन् ।
रुबी वैधानिक हिसाबले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को परीक्षा पास गरेर सार्वजनिक यातायात चलाउने सवारीचालक बनेकी हुन्।
पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी वहन गर्न यो पेसा थालेकी हुन् । रुबीले चलाउँदै आएको म.१ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर दौडिने गरेको छ ।
पाटन–पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएपछि अहिले पञ्चेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । सडक पुगेपछि यहाँ अहिले दैनिक १०र१५ वटा सवारीसाधन चल्ने गरेका छन् ।
तीमध्ये रुबी एक्ली महिला सवारीचालक बनेकी छन् । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारीचालक अनुमतिपत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभवन सुनाइन् ।
अनुभव सुनाउँदै रुबीले भनिन्, “टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोइ भन्छन्, मै हो ड्राइभर भन्दा आममानिस पत्याउँदैनन् ।
बैतडीबाट धनगढी जाँदा बाटोमा सवारी जाँच गर्ने ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेको अनुभव उनले सुनाइन् ।” उनले भनिन्, “सवारीचालक अनुमतिपत्र ओल्टाइपल्टाई हेर्छन् । विश्वास नलागेर होला, मेरो फोटोसमेत खिचेर राख्ने गरेका छन् ।” -गोरखापत्र