काठमाडौं । काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । सोमबार अपराह्न परेको बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएको हो ।
वर्षाले भित्र्याउन ठिक्क परेको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारी दिएको छ ।
केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराई डराई धान काटेका कृषकलाई वर्षाले निराश पारेको हो । वर्ष दिनसम्म खाने धान बाली भिजाएपछि कृषकलाई चिन्ता परेको छ ।
वालिङ नगरपालिका–१० का कृषक विष्णु पौडेलको ५ रोपनी खेतमा लगाएको धान खेतमा नै रुझेको छ । वर्ष भरी खाने धान नराम्रोसँग रुझ्दा आफू चिन्तित भएको उहाँले बताउनु भयो। उनले भने,“धान कोटको पाँच दिन भयो मङ्गलबार घरमा लैजाने भनेको पानीले रुझायो, अव न धान गतिलो हुने भयो नत पराल नै ।”
पौडेल मात्रै होइन स्याङ्जाका धेरै कृषक यती बेला चिन्तामा छन्, तिहार मनाएर धान भित्र्याउने तयारी गरेको कृषकलाई ठुलो वर्षाले चिन्तित बनाएको हो ।
जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार एक रातको बेमौसमी झरीले जिल्लाका अधिकांश क्षेत्रमा पाकेर काटेको धानमा क्षति पुगेको छ ।
सोमबारको बेमौसमी झरीले गुणस्तरीय धान उत्पादनमा ह्रास आउन सक्ने हमालको भनाई छ। कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम बाँकी रहेको उनको भनाई छ । झन्डै ६० प्रतिशत कृषकले धान बाली भित्र्याई सकेको अनुमान रहेको प्रमुख हमालले बताए।
स्याङ्जामा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको थियो।जिल्लाका ११ वटै पालिकामा धान बाली लगाइने गरेको छ। आँधी खोला किनार, काली गण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेती दोभान फाँटहरू र बिरुवा फाँटहरू धान खेतीका उर्वर क्षेत्र हुन ।
स्याङ्जामा सावित्री, मन्सुरी, रामधान,हाईब्रिड प्रकृतिका साथै केही उन्नत जातका धान खेती गरिन्छन् भने केही ठाउँमा स्थानीय जातका धान पनि रोप्ने गरिन्छ।