Banner Nepal

काठमाडौं । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानमा मौसम बदली भई छिटपुट वर्षा भएको छ।

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने बताए। “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थान तथा तराईका केही भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उनले भने, “तर पानी परे पनि क्षणिक रूपमा पर्ने हो। कुनै पनि स्थानमा निरन्तर पर्दैन।”

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ।

साता दिनपछि चिसो बढ्ने सम्भावना

अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ। जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उनले भने, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ।”

शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ।

चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update