काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले बीपी राजमार्गलाई चाँडो पुननिर्माण गरेर सञ्चालनमा ल्याइने बताएका छन् ।
बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटरभन्दा धेरै भाग बगाएपछि पुननिर्माणको काम भइरहेको छ । दसैं मनाउन गृह जिल्ला झापा पुगेका मन्त्री दाहालले दसैं मानेर काठमाडौं फर्किने बेलासम्ममा बीपी राजमार्गलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरि काम भइरहेका बताए ।
बीपी राजमार्ग काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा प्रयोग गरिदै आइएको छ ।
राजमार्गका धेरै भत्किएका र बगाएका सडकखण्डहरु सञ्चालनमा आइसकेको भन्दै उनले दसैंको समयमा पनि सडक पुनः निर्माणको काम नरोकिएको बताए । ने दसैं मनाउन पूर्वी नेपाल पुगेका सर्वसाधारण फर्किदा बीपी राजमार्ग भएर जान सक्ने अवस्था सिर्जना गर्न सरकार लागि परेको दाहालले बताए ।
आंशिक रुपमा सडक सञ्चालनमा आइसकेको भन्दै उनले पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि राज्यका सबै शक्ति र श्रोतको प्रयोग भइरहेको बताए ।
मन्त्रीका प्रेस सल्लाहाकार गोपाल झापालीका अनुसार मन्त्री दाहालले कमल गाउँपालिकको मंगलबारे–शिवगंज सडकमा पर्ने गेउरिया खोलाको पूल निर्माणको स्थलगत अवलोकन पनि गरेका छन् ।