काठमाडौं । पूर्वी जिल्लालाई काठमाडौंसँग जोड्ने बीपी राजमार्गमा यातायात सञ्चालन हुन थालेका छन् । बाढीपहिरोले क्षतविक्षत बनाएको खण्डमा १४ दिन पछि एकतर्फी राजमार्ग खुलेको हो।
सडक विभाग र स्थानीय पालिकाले राति समेत काम गरेर अवरुद्ध बीपी राजमार्ग संचालनमा ल्याएका हुन्। बीपी राजमार्ग अन्तर्गत रोशी–९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
गत असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेको चौकीडाडा देखि नेपालथोकसम्म सडक अवरुद्ध थियो। सडक विभाग र स्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेदेखि राजमार्ग खुलेको हो।
अस्थायी रुपमा सञ्चालनमा आएको राजमार्गमा कतै एकतर्फी र कतै दुईतर्फी नै खुलेको रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाले बताए ।
धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक मर्मत गरेर गाडी चल्नसक्ने बनाइएको छ । १४ दिनदेखि राजमार्ग बन्दहुँदा पूर्व जाने अधिकांसले यात्रा स्थगन गरेका थिए । बीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ हुने गरेका थिए । सडक खुलेपछि दसैंमा टीका लगाउन जानेलाई सजिलो हुने भएको छ ।