Banner Nepal

काठमाडौं । बाचुन्जेल अर्कैको जग्गामा बसेर ज्याला मजदुरी गरेर जीवन चलाइरहेका वीरेन्द्रनगर नगरपालिका–९ का चन्द्र कामीको परिवार त्यसबाट गुजारा नचलेपछि यही साउनको पहिलो साता भारत गयो ।

भारत गएको तीन दिनमै श्रीमती गोमा कामीको अचानक मृत्यु भयो । शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले श्रीमतीको शव भारतमै अन्त्येष्टि गर्नुभयो । किरिया गर्न जन्मथलो वीरेन्द्रनगर आउनुभयो । 

यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकीको जग्गामा त्रिपाल हालेर किरिया बस्नुभएको छ । चन्द्र, २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षायाममा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा उनीहरूले निकै सकस बेहोर्नु परेको छ । बसाइ मात्र होइन, छाक टार्न पनि कामी परिवारलाई धौ धौ भएको छ । 

१० दिनअघि ज्याला मजदुरीका लागि भन्दै चन्द्रका श्रीमान्श्रीमती भारतको चण्डीगढ पुगेका थिए ।

त्यहाँ ढुङ्गा बोक्ने काम सुरु गरेको दुई दिनमै श्रीमती गोमाको मृत्यु भएपछि चन्द्र पीडाले विक्षिप्त बन्नुभएको छ । चन्द्रको पुरानो घर जाजरकोट हो ।

सानैमा आमाबुवा गुमाएर  सम्पत्ति कमाउन नसके पनि श्रीमती र छोराछोरीको मायाले बाँचेको भन्दै उहाँले श्रीमतीको पनि मृत्यु भएपछि आफूमा झन् चिन्ता थपिएको बताउनुभयो । यहाँको ज्याला मजदुरीले छाक टार्न मुस्किल भएपछि भारत पुगेको भन्दै उहाँले त्यहाँ पनि दशा लागेर श्रीमतीको मृत्यु भएको उल्लेख गर्नुभयो ।

सँगै काम गरेर फर्किएकी श्रीमतीको सुतेकै अवस्थामा मृत्यु भएपछि शव घर ल्याउने पैसासमेत नभएपछि उतै दाहसंस्कार गरेर आफू सुर्खेत फर्किएको उहाँले बताउनुभयो ।  ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका चन्द्रका एक छोरा र एक छोरी छन् ।

किरिया बसेका २६ वर्षीय छोरा मेघराज ट्याक्टर चलाउने काम गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न नसक्ने हुनुभएको छ । छोरी सानै भएकाले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता कामी परिवारलाई छ । 

ज्याला मजदुरी गरेर छाक टार्नै मुस्किल हुने चन्द्रको परिवारको बासको टुङ्गो छैन ।

छिमेकीले दुःख देखेर जग्गामा कटेरो बनाएर बस्न दिए पनि त्यो पनि अहिले भत्किसकेको छ । कटेरो भत्किएपछि बनाउने अवस्था नहुँदा चन्द्रका श्रीमान्श्रीमती कमाउनका लागि भारत पुगेका थिए ।

१३ दिने किरिया त्रिपालमा गरिरहँदा आकाशबाट परेको पानीले झन् चिन्ता थपिएको उहाँ बताउनुहुन्छ । छाक टार्ने खाद्यान्नसमेत नहुँदा सो परिवारले सहयोगको अपेक्षा गरेको छ ।

५२ वर्षीय चन्द्रलाई सानैदेखि पालनपोषण गरेकी फुपू जलधारा सुनारले चन्द्रको परिवारलाई पाल्न गाह्रो हुने भएकाले मनकारी सहयोगीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

श्रीमान्श्रीमती हुँदा दुःख गरेर कमाएर जीवन चलाए पनि श्रीमती गोमाको मृत्यु भएपछि चन्द्रलाई जीवन चलाउन कठिन भएको उहाँले बताउनुभयो ।

छिमेकीले एकरदुई छाक चामल सहयोग गरेका छन् ।    

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update