Banner Nepal
विमान कम्पनीलाई दशै लाग्यो, यात्रुको चाप बढेपछि उडान पनि थपिए

काठमाडौं । सडक भत्किएपछि निजी विमानकम्पनीलाई अहिले दशै लागेको छ । सडकबाट यात्रा गर्नेले पनि हवाइ यात्रा गर्नु पर्ने बाध्यता भएसँगै विमानमा यात्रुको चाप अचाक्ली बढेको हो ।

यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले पनि धमाधम उडान सङ्ख्या थपेका छन् । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ ।

अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।

श्री एअरलाइन्सले पनि आजदेखि काठमाण्डौ–भरतपुर–काठमाण्डौ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताए ।  कम्पनीले शुरूमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यति एअरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाण्डौ–भद्रपुर–काठमाण्डौ र काठमाण्डौ–नेपालगञ्ज–काठमाण्डौमा समान एक उडान थपेको छ ।

साथै आजदेखि काठमाण्डौ–जनकपुर–काठमाण्डौ गन्तव्यमा एक उडान थपिएको यती एअरलाइन्सले जनाएको छ । 

बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update