काठमाडौं । नवरात्रको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ ।
नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
आज शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।
नवरात्रको पहिलो दिन बिहीबार दशैंघर अथवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा गरिएको थियो ।
नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
त्यसैले वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन दुर्गादेवीको विशेष आराधना गर्दछन् । नौ दिनसम्म पूजा गरेको प्रसाद जमरा आदि विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।