काठमाडौं । हालै भएको बाढी पहिरोबाट भएको क्षति र पुर्ननिर्माणका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ ।
बाढी तथा कटानले क्षति ग्रस्त बनेको वीपी राजमार्गको मुख्य मुख्य भागको हवाई निरिक्षण गरेपछि मन्त्रालयले आज पत्रकारसम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।
मन्त्रालयका सचिव तथा प्राविधिकहरुको अवलोकन पछि बाढी र पहिरोले गरेको क्षति, सडक खुलाउन हाल सम्म भएका प्रयास र आगामी योजना लगायतका बारेमा जानकारी दिन मन्त्रालयले आज अपरान्ह पत्रकारलाई बोलाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोलीले हेलिकप्टरमार्फत हिजो निरीक्षण गरेको थियो ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, संघीय सडक सपुरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने तथा नेपाली सेनाको विकाश निर्माण निर्देशनालयका धर्मेन्द्रकुमार झा सहितको टोलीले खुर्कोट पुल सम्म हवाई निरीक्षण गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा रक्षा मन्त्री मानवीर राई विच सडक मर्मत र पुननिर्माणलाई गति दिन दुवै मन्त्रालय विच सहकार्य गर्ने विषयमा छलफल भएपछि सचिव तथा प्राविधिकहरुको टोलीले क्षति ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो ।
बाढीले राजमार्गमा ठुलो नोक्सानी पु¥याएको र अब मर्मत र पुननिर्माणलाई गति दिन थप श्रोत, प्राविधिक तथा जनशक्ति परिचालन गर्ने निरीक्षण पछि फर्किएको टोलीले जनाएको छ ।