काठमाडौं । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर अविरल वर्षाको सम्भावना भने नभएको महाशाखाको भनाई छ ।
आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । पर्सिदेखि भने मौसममा सुधार हुने महाशाखाको अनुमान छ ।
हिजो कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएकोमा रातिदेखि कोशीसहित बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको र कोशी प्रदेशको तराई भेगका केही ठाउँमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।