काठमाडौं । संससदीय समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ ।
राउत विरुद्ध परेका उजुरीमाथि उजुरीकर्तासँग समितिले छलफल गर्न लागेको हो । राउतविरुद्ध फैसलासँग सम्बन्धितसहित ६ वटा उजुरी परेका छन्।
राउतविरुद्ध अधिकांश उजुरीकर्ताले नाम उल्लेख गरे पनि एउटा बेनामे छ। उजुरीमध्ये चार वटा मुद्दा फैसलासँग सम्बन्धित छन्।
नेपाली सेनाको विवाद जोडिएको, जग्गा विवादको मुद्दामा फैसला, चेतन ऐडी हत्या प्रकरणका अभियुक्तलाई तारेखमा रिहा गरेको विषयमा उजुरी छन् ।
सेनाको कोर्ट मार्सलका घटनासँग सम्बन्धित आदेशका दुई उजुरी परेका छन्। बेनामे एक उजुरीमा भने राउतको नैतिक चरित्रमाथि प्रश्न उठाइएको छ। श्रीमतीसँगको विवाद जोडेर नैतिकवान् नरहेकाले प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने बताइएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउनुअघि नै राउतको सुनुवाइ सक्नेगरी समितिले कार्यतालिका अघि बढाएको हो।
आज उजुरीकर्तासँग छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि गर्ने समितिले जनाएको छ । राउतको हकमा सुनुवाइलगत्तै निर्णयको तयारी छ। सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र निर्णय गरिसक्नुपर्ने व्यवस्था छ।
राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए। सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्।