काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन्।
दशैँजस्ता चाडपर्वका बेला अत्यधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले नियन्त्रण गर्ने दाबी गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले हवाई भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरूसँग कुरा गरिरहेको समेत बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरूलाई अनुरोध गरेको स्मरण गराउँदै त्यसअनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताए।
दशैँको मौका छोपेर ५ हजार, ६ हजार भाडा भएका ठाउँहरुमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ। त्यसले गर्दा हामीले नागरिक उड्डयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि हामीले अनुरोध गरेका छौं।
हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले नै अनुरोध गर्नुभएको छ कि यो बेलामा तपाईहरुले यसरी भाडा नबढाउनुस् भनेर। हामीले व्यवसायीसँग भाडा नबढाउन अनुरोध नै गर्ने हो। त्यो पनि नभए नियमन हुन्छ, र सरकारले गर्ने सबै काम गरिन्छ।’
त्यस्तै मन्त्री दाहालले अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुसँगको छलफलमा उनले बाढि र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताए ।