काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । उनी गत असोज ४ गते अमेरिका उडेका थिए ।
संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भएर उनी अपरान्ह सवा ४ बजे त्रिभुवन विमानस्थमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले स्वागत गरेका थिए।
त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत अमेरिका गएका थिए ।
उनी अमेरिकामा रहदा नेपालमा बाढी पहिरोका कारण दुई सयबढीले ज्यान गुमाए भने अझै दर्जनौं बेपत्ता छन् । सयौं घाइते भएका थिए ।
बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइँरहदा ओलीले भ्रमण नछोट्याएको भन्दै जनस्तरबाट आलोचना भएको छ ।