काठमाडौं । बाढी पहिरो तथा डुबानबाट १७० जनाको मृत्यु पुष्टि भएको छ । गृह मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको जानकारी दिए ।
आइतबार काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लाको विभिन्न स्थानबाट विपद्का कारण घाईते भएका र अलपत्र परेका १६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिनुका साथै खाद्यान्न लगायतका आपतकालीन राहत सामाग्रीहरू उपलब्ध गराइएको उनको भनाइ छ ।
उनले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको भइरहेको पनि जानकारी दिए ।
मन्त्रालयले खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने समेत जनाएको छ ।