काठमाडौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । निरन्तरको वर्षाका कारण केही सडक आशिंक अवरुद्ध भएका छन् भने केही सडक पूर्णरूपमा अवरुद्ध छन् । हिजो बेलुकादेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसय बेँसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार लेदोसहितको पहिरोले अवरुद्ध सडक पूर्णरूपमा खुलाउने प्रयास भइरहेको छ ।
निरन्तरको वर्षाले राप्ती राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेको छ ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिइन्। उनका अनुसार आजदेखि पर्सि १३ गतेसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला गाडी टिपर र ट्रक चलाउन रोक लगाइएको छ ।
यस्तै पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौ जोड्ने सडक बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरामा पहिरोले बिहानदेखि भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौ जोड्ने बाटो बन्द भएको हो । स्थानीयबासिन्दा, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका छन् । काठमाण्डौबाट हेटौँडा र हेटौँडाबाट फाखेल हुँदै काठमाण्डौ आउनेरजाने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध छ ।
त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन ।
गएराति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।