काठमाडौं । नेपाल वायुसेवा निगमले राजधानीको सिनामङ्गलमा रहेको जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ ।
काठमाडौं ३४, सिनामङ्गलमा रहेको ३४ रोपनी १३ आना २ पैसा क्षेत्रफल जग्गामा भवन निर्माण समेतका संरचना निर्माण हुने भएको हो ।
राजधानीकै नयाँसडकमा रहेको जग्गामा पनि बहुआयामिक भवन निर्माण गर्ने योजना रहेको निगमका एक अधिकारीले बताए ।
यी पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र लगानी बोर्डसित समन्वय गर्ने कार्य भइरहेको बताइन्छ ।
देशका विभिन्न जिल्लामा रहेका जग्गालाई पनि व्यवसायिक हिसाबमा सदुपयोग गर्ने र यी काम गर्न सञ्चालक समिति, मन्त्रालयको समितिका स्वीकृतिमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्दै आयश्रोत वृद्धि गर्ने योजना रहेको निगमका अधिकारीहरूको भनाइ छ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा आधुनिक ह्याङ्गर निर्माण गर्न विस्तृत परियोजना रिपोर्ट (डिपिआर) सम्भाव्यता अध्ययन रिपोर्टका आधारमा कन्सल्ट्याण्टमार्फत अनुमानित लागत निर्धारण गर्दै सैद्धान्तिक स्वीकृतिका लागि सञ्चालक समितिमा पेश गर्ने तयारी गरिएको छ ।
डिपिआरको लागि कन्सल्टेण्ट नियुक्त गरेर निगमलाई प्रतिवेदशन प्राप्त भइसकेको र ह्याङ्गर निर्माणका लागि आवश्यक बजेट अर्थ मन्त्रालयबाट व्यवस्थापन गराउन अनुरोध पत्र पठाइसकेको छ ।
निगमसँग भएको ह्याङ्गर पुरानो र जीर्ण अवस्थामा पुगेको छ । निगमले खरिद गरेका नयाँ न्यारोबडी र वाइटबडी जहाजहरुको मर्मत तथा संभार गर्नु पर्दा यो ह्याङ्गर साँघुरो र अपर्याप्त रहेको छ ।
‘ह्याङगरमा पर्याप्त स्थानअभावले जहाज मर्मत गर्नेक्रममा विभिन्न समस्या झेल्नु परिरहेको छ ।’ निगमका एक अधिकारी भन्छन्, ‘नयाँ ह्याङ्गर निर्माणपछि निगमका जहाजसँगै विदेशी र स्वदेशी निजी क्षेत्रका जहाजहरुको मर्मत गर्नु परेको खण्डमा यही ह्याङ्गरबाट सेवा प्रदान गर्न सकिनेछ ।’
निगमका अनुसार देशमा एउटा सुरक्षित र आधुनिक प्राविधिक ह्याङ्गरको आवश्यकता रहेकोछ र यसको व्यवस्थापन हुनुपर्ने बाध्यात्मक अवस्था पनि रहेको छ ।
आइकाओ र इयुको स्टेण्डर्ड र रिक्वायरमेण्टले पनि आधुनिक प्रविधियुक्त अन्तराष्ट्र्रियस्तरको एक ह्याङ्गर आवश्यक रहेको बताइन्छ ।