काठमाडौं । महायोगी सिद्धबाबा भनिने कृष्णदाश गिरीविरुद्ध सिख समुदाय आन्दोलनमा जाने तयारीमा छ ।
गिरीले नानक मठ कब्जा गरेपछि न्यायका लागि सिख समुदायले आन्दोलनको तयारी गरेको हो ।
नानक मठको संरक्षणका लागि सिख समुदाय आन्दोलनको तयारीमा रहेको सत्संग समितिका उपाध्यक्ष एवम् सिइओ रवि सिंहले बताए ।
गिरीले गरेको अत्याचार र अन्यायलाई सरोकारवाला निकायमा जानकारी गराउने र सडकमै निस्किएर आन्दोलन गर्ने सिंहको भनाई छ ।
गिरी चतराधामका पिठाधिस समेत हुन् । गिरीले ९ दिनसम्म बन्द बाकसमा माटो मुनी बसेर अलौकिक कर्म गरेको भनेर ख्याती कमाएका थिए ।
गिरी तिनै बाबा हुन् जो बलात्कार अभियोगमा दुई वर्ष जेल बसेका थिए ।
२०७२ को भूकम्पपछि बस्न ठाउँ नपाएपछि गुरु नानक सत्संग समितिले गिरीलाई अस्थायी रुपमा बस्न दिएको थियो । तर, अहिले तिनै बाबा गिरीले काठमाडौं महानगरपालिका– १६, म्हेपीमा रहेको नानक मठ र त्यहाँ रहेको ३२ रोपनी जग्गा नै कब्जा गरेका छन् ।
गिरीलाई क्रसर ब्यवसायीका रुपमा चिनिने नेपाल सरकारका पूर्व सचिव विश्वप्रकाश पण्डितले साथ दिइरहेका छन् । पूर्व सचिव पण्डितका कारण गुठी संस्थानका कर्मचारीले पनि बाबा गिरीलाई साथ दिएको सिख समुदायले आरोप लगाएका छन् ।
६० वर्षदेखि नानक मठको मर्मत संभारदेखि संरक्षण सत्संग समितिले गर्दै आएको छ ।
गिरीले जग्गा र सबै संरचना कब्जा गरेपछि २ रोपनी जग्गा भाडामा लगाएको थियो । केही पूर्वाधार बनाएर मासिक १० हजारमा भाडामा दिएको उक्त जग्गा अघिल्लो स्थानीय तहको पालामा काठमाडौं महानगरपालिकाले भत्काइ दिएको थियो ।
अहिले वडा १६ का जनप्रतिनिधिलाई पनि बाबा गिरीले प्रभावमा पारेर पुन संरचना बनाउन थालेका छन् ।
सो हड्पिएको जग्गामा गिरीले ३ तले भवन नै बनाएका छन् ।
इपू १५१५ मा जगतजंग मल्लले गुरु नानक यो मठ स्थापना गरेर १ हजार ६ सय रोपनी जग्गा उपलब्ध गराएका थिए । यो जग्गा गुठीको स्वामित्वमा रहेको छ ।
शोभाभगवति, ज्ञानधारा ज्ञानेश्वर, पशुपति बगैचा, थापाथली र म्हेपीमा उक्त जग्गा रहेको थियो ।
अहिले भने सबै मिचेर ३४ रोपनीमात्र बाँकी रहेकोमा त्यसमा पनि कृष्णदाश गिरी र विश्वप्रकाश पण्डितको आँखा लागेको छ ।