Banner Nepal
दशैं अगाडि नै काठमाडौंमा मेलम्चीको पानी आउने मन्त्रीको दाबी

काठमाडौं । काठमाण्डौका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् ।

दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिएको निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

काठमाण्डौमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।  

अहिले काठमाण्डौमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।

वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाण्डौ उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो ।

बाढीको सम्भावना कम भएसँगै काठमाण्डौमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गएको असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक २० करोड लिटर पानी ल्याउन लागिएको छ ।

काठमाण्डौमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको ठाउँबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा सार्ने तयारी छ ।

मेलम्ची खानेपानीका लागि काठमाण्डौ उपत्यकामा एक हजार ७ सय किलो मिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update