काठमाडौं । मनसुनको न्यूनचापीय प्रभावका कारण नेपालमा आगामी दुई दिन वर्षा जारी रहने भएको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेकाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी मुसलधारे र मध्यम वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिनसम्म जारी रहने छ ।
केही जिल्लामा अधिक वर्षा हुने भएकाले सतर्क रहन विभागले सबैलाई आग्रह गरेको छ । विभागले बुलेटिन जारी गर्दै प्राकृतिक विपद विरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न सुझाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।
भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम देखिएको छ ।
त्यस्तै वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारीका लागि सचेत गराइएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लामा समेत वर्षाले असर पुग्ने भन्दै सतर्क रहन भनिएको छ ।
सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।