Banner Nepal
ठूला दलहरुले सहमति गरेरै भ्रष्टाचार गर्छन्, ४० करोड माथि राष्ट्रिय सहमति नै हुने गरेको नेता भुसालको आरोप


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४०–५० करोडभन्दा माथिका भ्रष्टाचार मुद्दामा ठूला दलहरूबीच राष्ट्रिय सहमति हुने गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’को विमोचन र विमर्श कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


भुसालले ठूला भ्रष्टाचारहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूको संलग्नताबिना नहुने दाबी गरे । उनले भ्रष्टाचारमा सहमति गर्ने कुरामा आफ्नो दल एकीकृत समाजवादी पनि अछुतो नरहेको स्वीकारे ।   

‘अहिले हरेकजसो पार्टीबीच ४०–५० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारका मुद्दाहरूमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला,’ उनले भने, ‘ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् । र मुलुक पनि सकिराखेका छन् ।’


महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको बताए । समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीले बिगारेको उनले आरोप लगाए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update