काठमाडौं । सरकारले खरिद गरेको १९ हजार मेट्रिक टन चिनी नेपाल भित्रिनेक्रममा छ । भारतबाट खरिद गरेको चिनी अर्को हप्तासम्ममा नेपाली बजारमा आइपुग्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
यसअघि विभागले गएको साउनमै भारतबाट चिनी खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्मलाई जिम्मेवारी दिएको थियो ।
उनीहरुले १९ हजार मेट्रिक टन चिनी ल्याउन लागेका हुन् । विभागका निर्देशक राकेश पाण्डेका अनुसार भारतबाट खरिद गरेको चिनी अर्कोहप्तासम्मका बजारमा आइपुग्ने र यसबाट चिनीको अभाव र भाउमा देखिएको समस्या समाधान हुनेछ । यो चिनी बजारमा एक सय ७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने तयारी छ ।
यसअघि विभागले चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये साउन तेस्रो हप्ता सात वटा फर्म (कम्पनी) छनोट गरेको थियो । विभागका अनुसार छनोटमा परेको एउटा फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र अरु ६ वटाले दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी छनोट भएका थिए ।
चिनी खरिदका लागि छनोट भएका फर्मले निर्णय भए अनुसार चिनी खरिद गरिसकेका छन् ।
उपभोक्ताले अहिले बजारमा चिनी महँगोमा किन्नुपरेको गुनासो गर्दै आएका छन् । तर यो चिनी आयात भएर बजार पुगेपछि भाउमा समस्या नहुने विभागको दाबी छ ।