Banner Nepal
किन मागे इजरायली प्रधानमन्त्री नेतान्याहुले माफी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन् ।

 ६ जना बन्धकको शव इजरायल ल्याइएपछि चर्केको प्रदर्शनकै क्रममा प्रधानमन्त्री नेतान्याहुले इजरायली जनता र मृतकका परिवारसँग माफी माग्नु भएको हो ।

इजरायल सरकारको समन्वय अभावका कारण बन्धकहरु मारिएको भन्दै इजरायलमा भएको आमहडतालले उग्र रुप लिएपछि प्रधानमन्त्री माफी माग्न बाध्य भएका हुन् ।

आम हडतालमा उत्रेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहु अझै अडानमा रहने हो भने थप बन्धकको मृत्यु हुने भन्दै तत्काल बाँकी बन्धकको रिहाइका लागि ठोस कदम चाल्न माग गरेका छन् ।


नेतान्याहुले हमासको कब्जामा रहेका बन्धकहरुलाई ११ महिनासम्म पनि बन्धन मुक्त गर्न असफल भएको भन्दै प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहुविरुद्ध चर्को नाराबाजी गदै आयोजना गरिएको आम हडतालका क्रममा इजरायलको जनजीवन अस्तव्यस्त भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत वर्ष ७ अक्टोबरमा हमासले अपहरण गरेका बन्धकमध्ये ९७ बन्धकहरूको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update