Banner Nepal
सगरमाथा आरोहीलाई खिजिदेम्वा गाउँपालिकाको सम्मान, एकै मञ्चमा ४६ आरोही सम्मानित

काठमाडौं ।  गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बर्द्धन र प्रबर्द्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विभिन्न ४६ जना आरोहीहरुलाई संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सम्मान गरेका हुन् ।

पर्यटनमन्त्री  पाण्डेको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको सभाध्यक्षतामा काठमाडौंको ज्योति पाटी प्यालेसमा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान गरेको हो । 

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद रामहरि खतिवडा, संविधानसभा सदस्य  यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार,खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का लगायतको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोजी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुं‌गा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीग्खकंका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरेको हो । 

त्यस्तै, कृषि, जलस्रोत र पर्यटनबाट खिजीदेम्बावासीको आर्थिक अवस्था उठने निष्कर्षका साथ गाउँपालिकाले बजेट निर्माण गरी कार्यान्वयन गरी रहेको र सरकारले पहिचान गरेको १०० गन्तव्य मध्ये खिजीदेम्बाका दुई वटा पर्यटकीय स्थलहरु समेत सूचिकृत भएको सन्दर्भमा गाउँपालिकाको पर्यटनको दिगो विकास र उन्नतीका लागि सबै तहको सरकार समेत ध्यानाकर्षण गराउन सधीय राजधानीमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङले स्वागत तथा बधाई मन्तव्य व्यक्त गरिन् ।

 वडा अध्यक्षहरु, विभिन्न जातीय सस्था, खिजीदेम्बामा परियोजना सञ्चालन गर्ने संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्वन्धित सस्थाका अध्यक्ष, अन्य पर्वतारोही लगायतको उपस्थिती रहेको थियो। 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update