Banner Nepal
भोलिसम्म वर्षा जारी रहने, पर्सीबाट झरी रोकिने सम्भावना

काठमाडौं । देशका धेरैजसो ठाउँमा हिजोदेखि शुरू भएको झरी भोलिसम्म नै रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार झरी र ठूलो पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेकाले पूर्वमा केही कम पानी पर्ने सम्भावना छ ।

तर मध्य र पश्चिममा भने भोलि बेलुकासम्म नै पानी पर्ने सम्भावना छ । बाग्मती, गण्डकी, कर्णाली र सदूरपश्चिममा केहीबेर पानी रोकिने र परिहाल्ने क्रम भोलिसम्म नै चल्ने उहाँले बताउनुभयो । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको पनि जोखिम रहेको छ ।

कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ । झरी भोलिदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला, रुपन्देहीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो १२ घण्टामा चितवनको कल्याणपुरमा १ सय ६० मिलिमिटर, मकवानपुरको हात्तीसुँडेमा १ सय ३६ मिलिमिटर, रुपन्देहीको भैरहवामा एक सय मिलिमिटर, काठमाण्डौको धाप ड्याम र लमजुङको बेसीशहरमा ९५ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका बाग्मती, धोबीखोला, शालीनदी, विष्णुमतीलगायतका खोला तथा नदीमा बाढीको चेतावनी जारी भएको छ ।

यस्तै मकवानपुरको पूर्वी राप्ती र बकैया खोलामा पनि बाढीको चेतावनी जारी भएको छ । यसैगरी नारायणगढ–मुग्लिङ सडक खण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेकोले यात्रामा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update